काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेर प्रतिवेदन, पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनर्लेखन गर्न निर्देशन दिएसँगै अलपत्र परेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए । सातै प्रदेशका नेता कार्यकर्ताबाट सुझाव लिएर कार्यदलका सदस्य सचिव समेत रहेका शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा अध्यक्षको हैसियतले पार्टी कमजोर बन्नुमा केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने नेता कार्यकर्ताको सुझाव समेटिएको छ । यति सम्म कि चुनाबमा हार्नु, पार्टी प्रति निराशा उतपन्न हुनु, पार्टीको नाम समेत लिन जनता सामु लाज लाग्नु जस्ता कुराहरु प्रतिबेदनमा आएपछि अध्यक्ष ओली रिसले रातोपिरो हुँदै प्रतिवेदन पुनर्लेखन गर्न नेताहरूलाई निर्देशन दिएका हुन्। ओलीको निर्देशनपछि उपाध्यक्ष तथा कार्यदल संयोजक बादल आफै प्रतिवेदन पुनर्लेखनमा जुटेका छन्।
जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा थापासहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सातै प्रदेश अध्यक्ष सदस्य रहेका छन्।

