२० असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्य नियन्त्रण गर्न कर छुट दिइएको ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि प्रयोग गर्न दिने निर्णय गरेका छन् ।
ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गरेका हुन् । आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न सकिनेछ । अमेरिकामा रातो रङको डिजेल र सामान्य डिजेलको इन्धन गुणस्तर समान हुन्छ । तर रातो डिजेलमा संघीय इन्धन कर लाग्दैन । यसलाई ट्याक्टर, निर्माण उपकरण तथा अन्य अफ–रोड प्रयोजनका लागि प्रयोग गरिन्छ ।
नेब्रास्कामा आयोजित चुनावी कार्यक्रममा ट्रम्पले यो निर्णयले ट्रक चालक, किसान तथा आम उपभोक्तालाई राहत पुग्ने दाबी गरे । उनका अनुसार कर छुटको डिजेलको प्रयोग विस्तार गर्दा खाद्यान्नसहित विभिन्न वस्तुको ढुवानी लागतसमेत घट्नेछ ।
