५ असोज, काठमाडौं । अमेरिकाले नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।
अब जमिनमुनि सानो परमाणु धमाका गरेर त्यसका संकेतहरू लुकाउने प्रयास कुनै देशले गर्यो भने त्यसलाई सजिलै गरि पत्ता लगाउन सकिन्छ भन्ने बुझ्नु यस प्रयोगको मुख्य उद्देश्य रहेको छ । यो परीक्षण यस्तो समयमा भएको छ, जतिबेला अमेरिकाले चीनमाथि लुकेर परमाणु परीक्षण गरेको आरोप लगाउँदै आएको छ।
वैज्ञानिकहरूले सुरुङभित्र रासायनिक विस्फोटक पदार्थ जडान गरेका थिए। विस्फोटका क्रममा उत्पन्न हुने कम्पन, ध्वनि र अन्य सङ्केतहरू रेकर्ड गर्न विभिन्न प्रकारका सेन्सरहरू राखिएका थिए।
यस प्रयोगबाट प्राप्त तथ्याङ्कको प्रयोग गरेर कम्प्युटर मोडल र परमाणु विस्फोट पत्ता लगाउने प्रणालीलाई अझ प्रभावकारी बनाइनेछ। यसबाट अमेरिकालाई विश्वको जुनसुकै कुनामा हुन सक्ने सम्भावित परमाणु धमाकाहरू पहिचान गर्न मद्दत पुग्नेछ।
