काठमाडौँ । कांग्रेस–एमाले गठबन्धन भत्किएपनि त्यसको प्रभाव ६ वटा प्रदेशमा मात्र परेको छ । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धन कायम रहेको छ ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धनका आधारमा प्रदेश सरकार निर्माण को गृह कार्य अगाडी बढेपनि मधेसमा कांग्रेसको विकल्प खोजिएको छैन । मधेस प्रदेश सभामा जनता समाजवादी पार्टी नेपाल सबैभन्दा ठुलो दल छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धन सरकार कायम रहेका कारण जसपा नेपाल प्रतिपक्षको भूमिकामा छ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले अरु प्रदेशमा कांग्रेस–एमालेको गठबन्धन भत्किए पनि मधेस प्रदेशमा नभत्किने दाबी गर्नु भएको छ ।
यादवले भन्नु भयो -कांग्रेस–एमालेले मात्र होइन, नेकपाले पनि मधेसवादी दललाई सरकारको नेतृत्व दिन चाहेको छैन । मधेसवादी दलहरूले विगत ८ वर्षदेखि मधेस प्रदेश सरकार चलाए, तर संघीयतामाथि नै प्रश्न उठ्न थाल्यो । अब कांग्रेस, एमाले र नेकपाले मिलेर सरकार चलाउँछन् । मधेसवादी दलको नेतृत्वमा सरकार हुँदा मधेसमा थुप्रै बेथिति जन्मेको दाबी गर्दै उनले मधेसवादी दलले सरकार चलाउन नसकेकै कारण कांग्रेसले नेतृत्व लिएको बताउनु भएको छ ।

