राष्ट्रिय मुक्ति पार्टीले निर्वाचनमा भाग लिने, उम्मेदवार नामावली पठाउन निर्देशन

मुख्य समाचार राजनीति

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो पाटीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले बताउनु भयो । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने यो हाम्रो ऐतिहासिक दायित्व हो । त्यसैले राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीका जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ । पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसका लागि चुनावी रणनीति कार्यदललाई जिम्मेवारी तोकेको छ । बैठकले विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्नका लागि विभिन्न पार्टीहरूसँग छलफल गरी चाँडै टुंगाे लगाउने निर्णय समेत गरेको छ । बैठकले पार्टी स्थापना भएको विगत ९ महिनाको संघर्षमा हासिल गरेको राजनीतिक प्रगतिको मूल्यांकन गर्दै, नयाँ नेपाल निर्माणका लागि ‘स्वदेशवाद’ को वैचारिकी र राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा अनुरूपको रणनीति तथा कार्यक्रमहरूको तय गरेको छ।

25Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *