सरोज खिलाड़ी
न त मधेश आन्दोलन बाट आएका न त मधेशीको समस्या बोकेका पार्टी हो सिके राउत नेतृत्वको जनमत पार्टी। मधेश आन्दोनको भनौ वा मधेशको समस्या भनौ कुनै पनि कुरामा राउतको सहभागिता छैन। सिके राउतले चलाएका अभियान भनेको मधेशलाइ छुट्टै देश बनाउने अभियान थियो। जसकारण उनि एक पटक होइन पटक पटक जेलमा गए। पृथकतावादी नारा, कैयौं पटक जेल, र अन्तमा केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गर्दै जनमत पार्टी खोल्न पुगेका राउत संग जनताले केहि आशा राखेर जनमत लाइ राष्ट्रिय पार्टी बनाए पनि उनि एमाले अध्यक्ष केपी ओली लाइ आदर्श मान्दै अहिले पार्टीमा हिटलर बनेका छन् । पार्टी खोल्दाको आफ्नो बढ्दो आकर्षणकै जगमा २०७९ को चुनावमा उनले सप्तरी-२, मा उपेन्द्र यादवलाई हराए, उनी नेतृत्वको जनमत पार्टीले राष्ट्रिय दलको हैसियत बनायो । तर सिके राउतको उन्नति ग्राफमा अहिले धक्का लागेको छ, पार्टीभित्रै उनलाई ‘तानाशाह’ को आरोप लाग्ने गरेको छ । सँगै जेल बस्न साथ दिएकाहरू, पार्टी निर्माणका साझेदारहरू, जनतासम्म पुग्न सहयोग गरेकाहरू आज सिके राउतसँग भयभित हुनु परेको छ, कतिबेला पार्टीबाट निकालिन्छ भनेर। जनमतका अध्यक्ष राउतले आफ्ना नातागोता आफन्तलाई पद र शक्तिमा पुरयाएपछि नेता तथा कार्यकर्ताले प्रश्न तेर्साउन थालेका छन् । पदाधिकारीहरूलाई नै निष्कासनको संकेत सहित अध्यक्ष राउतले स्पष्टीकरणको चाङ नै लगाएका छन् । आफ्ना दाजु जयकान्त राउतसहित निश्चित नेता बाहेकका पदाधिकारीहरूलाई धमाधम स्पष्टीकरण सोध्ने र केही महिनापछि कारबाही गर्ने प्रक्रियागत प्रवृत्तिले अध्यक्ष राउतमाथि शक्ति र नगदे आर्थिक लाभको राजनीति गर्न खप्पिस रहेको उनकै समकक्षी ई.दीपक साहको आरोप छ । केन्द्रीय उपाध्यक्षद्वय अब्दुल खान र बसन्त कुशवाहले स्पष्टीकरण दिइसकेका छन् । त्यस्तै महासचिव चन्दन सिंह र सचिव अनितादेवी साहसँग पनि स्पष्टीकरण सोधिएको थियो । जनमत पार्टी बन्नुअघि स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सहसंयोजक थिए, कैलाश महतो । सिकेपछिको वरियतामा रहेका महतोलाई गुट चलाएको आरोप लगाएर पार्टी सदस्यबाटै हटाइयो । सचिवहरू अनितादेवी साह र हेमलता रजालाई पनि कारबाही गरे । अनितादेवी संघीय सरकारका सामान्य प्रशासन मन्त्री थिइन् । उनलाई आर्थिक हिनामिनाको आरोप लगाइयो । सचिवहरू बीपी साह र भूपेन्द्र यादव निलम्बनमै परे । ३ महिनाका लागि उनीहरू निलम्बनमा परेको निर्णय सार्वजनिक भयो । निर्णय सार्वजनिक गरेरै कार्बाहीमा परेका अरू नेता हुन्– रवीन्द्र यादव, बिनिता सिंह दनुवार, सोनु मुर्मु र शम्भु साह ।
पार्टी उपाध्यक्ष रहेका दिपक साहलाई गत २२ साउनमा साधरण सदस्यसम्म नरहनेगरी निस्कासन गरियो । त्यसैगरि अनुशासन आयोगका नवनियुक्त प्रमुख नरेन्द्रप्रसाद चौधरी र सदस्य सचिव अनिताकुमारी मण्डलले बक्तव्य जारी गरी दीपक साह साधरण सदस्यसम्म नरहने गरि निकालियो । मधेशका एक चर्चित नेताका अनुशार सिके राउत अहिले ओली पथ मा हिड्न खोज्दै छन्। ओलीलाई उनि आदर्श मान्छन । ओली नै प्रधानमन्त्रि भएको बेला उनि मधेशलाइ छुट्टै देश बनाउने अभियान छाडेर जनमत पार्टीका खोलेका थिए। अहिले पनि ओली सरकारलाइ जनमतले समर्थन गरेको छ । त्यति मात्र होइन उनिलाइ पद मात्र प्यारो भएका कारण मधेशको कुनै पनि मुद्धा नबोकेको पार्टी हो जनमत पार्टी । त्यसैले होला उनि संघिय लोकतान्त्रिक मोर्चा बाट समेत आफै बाहिरिए। मधेशका केहि नेताहरुका अनुशार राउत ओलीका इसारामा चल्ने नेता भएको हुनाले ओलीकै इशारामा मोर्चाबाट बाहिरिएका हुन्। राउत चाहन्छन कि जसरि एमालेमा ओली संग सबै डराउछन त्यसरी नै जनमतमा म संग पनि सबै पदाधिकारी डराओस l एमालेमा केपीको बिरुद्ध जाने हिम्मत भएका नेता कोहि छैनन् । राउत पनि त्यहि बाटोमा छन् ।