सरोज “खिलाडी“
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठकमा हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल भएको छ । बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ ।
बैठकमा अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको आरोप लगाउनु भयो । आन्दोलनमा बलिदानी दिएका युवाहरूका माग सुन्नुको सट्टा सरकार प्रशासनिक सन्तुलन र नियुक्तिमा मात्र व्यस्त रहेको उनले गुनासो गरेका छन् ।
बैठकपछि जारी गरेको विज्ञप्तिमा बहुल संस्कृतिको सम्मान, स्वशासन र समान अधिकार सुनिश्चित गर्न संविधान पुनर्लेखनको सैद्धान्तिक सहमति जनाउँदै संविधान सुधार सुझाव आयोग गठनको माग गरिएको छ । बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते लाई ध्यानमा राख्दै समावेशी र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न विशेष ‘अन्तरिम घोषणा’ जारी गर्नुपर्ने पनि निर्णय गरेको छ । उक्त घोषणामार्फत आगामी संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था संस्थागत गर्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै पार्टीले देशव्यापी मुक्ति यात्रा आयोजना गर्ने निर्णय गरेको छ । जसअन्तर्गत मधेसमा झापा–कञ्चनपुर पदयात्रा र पहाडमा सांस्कृतिक संवाद यात्रा सञ्चालन गरिनेछ । उक्त अभियानको सम्पूर्ण तयारीका लागि कार्यकारिणी समितिलाई नै मूल आयोजक समितिको रूपमा रूपान्तरण गरिएको छ ।