४ भदौ, काठमाडौं । धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ ।
सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौं आवागमन गर्नेगरी तोकेको छ । १४ सिट भन्दा ठूला यात्रुबाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र सोही मार्गबाट फर्कने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । १४ सिट भन्दा सानो क्षमताका यात्रुबाहक सवारी साधनलाई भीमफेदी–देउराली हुँदै काठमाडौंतर्फ जाने र आउने व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ ।

