राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा उक्त पार्टीले सङ्घर्षको मूल दर्शन स्वदेशवाद रहेको उल्लेख गरेको छ । घोषणापत्रमा राज्य र समाजको वैकल्पिक मोडेल प्रस्तुत गरिएको छ । जसमा संविधानको पूर्ण संशोधन गरी बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने उल्लेख छ । जहाँ सबै राष्ट्र/समुदायलाई आत्मनिर्णय, स्वायत्तता, एवं समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने उल्लेख छ । रामुकाका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आज घोषणापत्र सार्वजनिक गरेका हुन्। सबै आदिवासी, जनजाति, मधेशी, पिछडा वर्ग, दलित, पिछडिएका क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्ने, प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण दिने, एकल राष्ट्रवादको अन्त्य तथा साझा राज्य, साझा सत्ताको स्थापना गर्नेलगायतको विषय समेटिएको छ। घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष महतोसहित वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिव द्वय केशव झा, अनिल महासेठ, सचिव शेर बहादुर शाह, नेताहरु बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराईलगायतको उपस्थिति थियो ।
घोषणापत्रको प्रस्तावनामा भनिएको छ,‘नेपालको इतिहासमा पहिलो पटक स्वदेशवादी दर्शनमा आधारित, बहुल राष्ट्रिय लोकतन्त्रको पक्षधर र सबै उत्पीडित समूदायको मुक्तिका लागि प्रतिबद्ध राष्ट्रिय मुक्ति पार्टी नेपाल चुनावी मैदानमा उत्रिएको छ । हामी विश्वास गर्छौ कि नेपालको वास्तविक समृद्धि र शान्ति बहुल पहिचानको सम्मान, स्वशासन र सामूदायिक समाजको निर्माणबाट मात्र सम्भव छ । यो घोषणापत्र केवल चुनावी प्रतिश्रुति होईन–यो नेपाल र नेपाली जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुक्तिको दस्तावेज हो ।’ रामुपा नेपालले क्रान्तिको दर्शन नै स्वदेशवादी मार्ग बनाएको छ ।

