सप्तरी, भदौ १८ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरु भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको बताएका छन । राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा जनजागरण अभियान अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा शीर्ष नेताहरुले मधेशीलाई मधेशमै अल्पमतमा पार्ने भूमि ऐन विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियानले मोर्चाकै नेताहरुलाई जगाउनु पर्ने बताए । अहिलेको सत्ता गठबंधन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास रहेको टिप्पणी गर्दै उनले भूमि ऐन पास हुदा मोर्चाका घटक दलको हाउसमा पोजिसन के रह्यो प्रस्ट्याउनु पर्ने बताए । सारा मधेशी पार्टी एक भएर मात्रै नपुग्ने अवस्था रहेकोले आदिवासी जनजाती सहित सबै उत्पीडित जाती र समुदायहरु नमिलेसम्म अधिकार नपाउने उल्लेख गरे ।
उत्पीडितहरुलाई अधिकारविहिन बनाई कांग्रेस, एमालेले विगत ३५/३६ वर्षदेखि देश लुटेर जनतालाई कंगाल बनाएको दावी गर्दै अध्यक्ष महतोले पुर्वी सभ्यता र संस्कृतिलाई मेटाएर यहाँका शासकवर्गले होलीवाइन संस्कृति लाद्न खोजेको बताए। बिगत ३०-३५ बर्षमा नेपालमा भएको सम्पूर्ण कलकारखानाहरु कांग्रस एमालेको नेताहरुले बेचेर खाएको आरोप समेत महतोले लगाएका छन् । जुट मिल बिराटनगर देखि हिमाल सिमेन्टको कारखाना हुँदै गोरखकाली टायर सम्मको सम्पूर्ण कलकारखानाहरु कांग्रेस एमालेको सरकारले बेचेर खाएर देशलाइ कंगाल बनाएको दाबी महतोले गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशीको जन्म नै संघर्ष गर्नलाई भएकोले संघर्षबाट मधेशी पछि नहट्ने बताए। भुमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको बताए। भुमि ऐन मधेशीलाई मधेश मै अल्पसंख्यक बनाउने षड्यन्त्र रहेको बताए। मधेशीलाई कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्रै रहेको बताए।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशको उप्जाउ भुमिलाई शासकवर्गले पहिलो चरणमा वक्सिस,विर्ता, जागिरको रुपमा वितरण गरे, दोश्रो चरणमा हदबन्दीको नाममा खोसे, तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरुलाई वन विनाश गरेर जमिन बाँडे, चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे र अहिले आएर पाँचौ चरणमा भुमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजिएको बताए। मधेशलाई आन्तरिक उपनिवेश बनाई अझै शासन गरिएको बताए। आफ्नै शासन सत्ताको लागि सबै मिलेर संघर्ष गर्नु पर्ने बताए। समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्ने बताए। कार्यक्रममा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले यदि यो मोर्चा तोड्न कमजोर पार्न यसमा आवद्ध कुनै दलले बदमासी गर्छ भने दाना पानी बन्द गर्न तपाईहरु अगाडि आउनु पर्ने बताए। यो राज्यसत्तालाई मधेश चाहिने तर मधेशी नचाहिने बताए। भुमि विधेयक भुमिविहिन र सुकुम्बासीको लागि भन्दा पनि भुमाफियाको लागि ल्याएको बताए, तराई मधेशलाई मरुभूमि बनाउन ल्याइएको बताए।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको बताए। आन्दोलनकारी माथिको झुठा मुद्दा सरकारले फिर्ता लिनु पर्ने बताए। कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको बताए। यी सबै पार्टीले मिलेर संघर्ष गर्ने हो भने मात्रै अधिकार प्राप्त हुन सक्ने बताए।

