करिब १२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका

प्रदेश समाचार

कलैया । बाराको कलैयाबाट हराएकी २ वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल भेटिएकी छन्।

घरबाट हराएपछि परिवारजन तथा स्थानीयवासीले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा बालिकालाई १२ घण्टापछि सकुशल फेला पारिएको हो।

बालिका भेटिएपछि परिवारले राहतको महसुस गरेका छन्। घटनाबारे थप विवरण तथा बालिका कसरी हराइन् र कहाँबाट फेला परिन् भन्ने विषयमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ ५:३० बजेतिर आफ्नै घरबाट बेपता भएकी थिइन् । घर अगाडि खेलीरहेकी बालिका अचानक बेपता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए । आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुर सहितको सुरक्षा टोलीले रातभर बालिका खोजी अभियान चलाएको थियो । ‘बालिका पुग्न सक्ने सम्भावित स्थानहरुमा हामीले नेपाली सेना र सशस्त्र प्रहरी समेतको सहयोगमा रातभर सर्च अभियान चलाएका थियौं,’ डिएसपी घलेले भने ।

प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पतालमा कलैयामा पठाएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रुपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *