जनकपुरधाम — जनकपुरधाममा अतिक्रमणमा परेको गुठीको जग्गा खाली गराउने अभियान सुरु भएको छ। लामो समयदेखि विभिन्न व्यक्ति तथा संरचनाले ओगटेको गुठीको जग्गामा सम्बन्धित निकायले डोजर चलाउन थालेको हो।
गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउने क्रममा डोजर प्रयोग गरिएको जनाइएको छ। अतिक्रमण हटाउने क्रममा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका कर्मचारीसमेत परिचालन गरिएको छ। जनकपुरधाम ६ पेठीया बजार छेउ मै रहेको गोरधोई पोखरीको डिल डोजर लगाएर खाली गराइँदै छ ।
पहिलो चरणमा ५० पोखरी मध्ये ७ , दोश्रो चरणमा मन्दिर परिषर छेउछाउ र तेश्रो चरणमा गुठीकुटीको जग्गा कब्जा गरेर बनाईएको घर टहरामा डोजर चलाइने छ ।
गुठीको जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि पटक–पटक पहल हुँदै आए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो थियो। पछिल्लो समय भने अतिक्रमित जग्गा पहिचान गरी संरचना हटाउने प्रक्रिया अघि बढाइएको हो।
सम्बन्धित निकायले गुठीको जग्गा सार्वजनिक तथा धार्मिक प्रयोजनका लागि संरक्षण गर्नुपर्ने भन्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। डोजर चलेपछि अतिक्रमण गरी बसेका व्यक्तिहरूमा भने अन्योल र असन्तुष्टि देखिएको छ।
स्थानीयले गुठीको जग्गा संरक्षणसँगै वास्तविक अभिलेख सार्वजनिक गर्न, अतिक्रमण गर्ने व्यक्ति तथा संस्थाको पहिचान गर्न र कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
अतिक्रमित गुठी जग्गा खाली गराउने अभियान कहाँ–कहाँसम्म पुग्छ र हटाइएका संरचनाको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा सम्बन्धित निकायको आगामी कदमलाई चासोका साथ हेरिएको छ।

