सरोज खिलाडी
काठमाडौँ । रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेकोमा राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको र यसबाट आदिवासी जनजाति र मधेसी समुदायमाथि अन्याय भएको बताउनु भएको छ। उनले यो निर्णय निर्वाचन आयोगको क्षेत्राधिकार बाहिरको भएको र संविधानको मर्मविपरीत भएको पनि उल्लेख गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालबिच आसन्न निर्वाचनमा एकल चुनाव चिन्ह प्रति गरिने गरी एकीकृत रूपमा अगाडि बढ्ने सहमति भएको सन्दर्भमा निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन आयोगद्वारा रद्द गर्ने निर्णय गर्दा ठुलो दुःख, पूर्वाग्रह र अस्वीकार्य छ।’ पार्टीले निर्वाचन आयोगले यसअघि पनि नेपाल सरकारबाट आम माफी पाएका धेरै नेताहरूलाई निर्वाचनमा भाग लिन दिएको तर चौधरीको हकमा भने पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाएको छ। यस्तो कार्यले निर्वाचनमा निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगको उक्त निर्णयको तत्काल पुनरावलोकन गरी चौधरीको उम्मेदवारी कायम गर्न माग गर्दै यस्तो विभेद पूर्ण निर्णय नगर्न आयोगलाई पार्टीले सचेत समेत गराएको छ ।


