काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन् । मधेस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरे संगै उनले खाद्यान्न, पिउने पानी, औषधी लगायतलाई समेटेर आपत्कालीन राहत योजना तुरुन्त लागू गर्न माग गरेका हुन् । पूर्व उपमधान्मंत्री समेत रहेका महतोले किसानको ऋण माफी गर्न माग गर्दै बिउ, खाद्य र कृषि उपकारणमा निःशुल्क सहायता प्याकेज लागू गर्न समेत माग गरेका छन् । अध्यक्ष महतोले एक वक्तव्य जारी गर्दै सो क्षेत्रमा विद्युत् आपूर्ति समेत निर्बाध रूपमा उपलब्ध गराउन माग गर्दै खानेपानी एवं कृषि र विद्युत् शुल्क निःशुल्क गर्न माग गरेका हुन् ।
साथै उनले किसानका लागि सिँचाइ एवं खानेपानीको निम्ति आवश्यक उपकरण उपलब्ध गराउन समेत माग गरेका छन् । त्यसका लागि स्थानीय सरकारको सिफारिसमा भन्सार निःशुल्क गर्न समेत माग गरेका छन् । अध्यक्ष महतोले वक्तव्यमा भनेका छन्, ‘यो केवल एक प्राकृतिक आपत् मात्र होइन, यो राज्य संरचनाको दीर्घकालीन उपेक्षा, जल–जङ्गल–जमिनको दोहन र पश्चिमा औपनिवेशिक विकास मोडेलको कारणले भइरहेको शोषणको परिणाम हो ।’
लगातार घट्दो वर्षा, भूमिगत जलको न्यून पुनर्भरण, सिँचाइ संरचनाको चरम अभाव र चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारणले गर्दा मधेसमा सुक्खाले खेतबारीमा मात्र नभई पिउने पानीको समेत अभाव भएको बताउँदै उनले यसले मधेसको जनजीवन निकै कष्टपूर्ण बनेको बताएका छन् ।
उनले भनेका छन्– ‘यो सिर्फ पानीको सङ्कट होइन, यो अस्तित्वको सङ्कट हो । सरकारको ढिलासुस्ती र राजनीतिक औपनिवेशिकता एवं असंवेदनशीलताले यो विपत्तिलाई अझै भयावह बनाइरहेको छ ।