सुत्केरी बिदा ९८ दिनबाट ६ महिना बढाउन “सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता

मुख्य समाचार राजनीति

काठमाडौँ । प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता भएको छ ।

विपक्षी राजनीतिक दलका महिला सांसदहरूले नेपालको संविधान र स्वास्थ्यसम्बन्धी कानुनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै यो प्रस्ताव दर्ता गराएका हुन् ।

दर्ता भएका प्रस्तावमा नेपालको संविधानको धारा ३८ को उपधारा (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा स्थापित गरेको उल्लेख छ।

नेपालमा प्रजनन दर घटेर १.६८ मा झरेको उल्लेख गर्दै प्रस्तावमा ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्दै आएको राज्यले अहिले घट्दो जन्मदर जोगाउने प्रभावकारी नीति ल्याउन नसकेको दाबी गरिएको छ। एकातिर सरकारले ६ महिना स्तनपान र सुनौलो १००० दिनको नारा लगाउने, अर्कोतिर बिदा भने अत्यन्तै न्यून दिने व्यवहारिक विरोधाभासका कारण महिलाहरूले कार्यस्थल र मातृत्वमध्ये एक रोज्नुपर्ने बाध्यात्मक अवस्था रहेको पनि प्रस्तावमा उल्लेख छन् ।

अहिलेको ९८ दिनको बिदा पर्याप्त नभएको भन्दै सांसदहरूले संसदमा यस विषयलाई छलफलको मुख्य एजेन्डा बनाउन माग गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *