हालसम्म ७२ जनाको शव फेला, सम्पर्कविहीन ४४ सैनिकको खोजी कार्य हुँदै

मुख्य समाचार राजनीति

काठमाडौं, १० भदौ २०८३। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढीपछि विभिन्न नदी तथा खोलाका तटीय क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म ७२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र पूर्वी नवलपरासीमा १ जनाको शव फेला परेको छ।

फेला परेका सबै शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ। बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएपछि ठूलो जनधनको क्षति भएको हो। बाढीको प्रभाव भोटेकोशी हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका नदी तटीय क्षेत्रमा समेत परेको छ। बाढीका कारण प्रभावित भएकाहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ। बाढीमा परी ठूलो संख्यामा मानिस तथा सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी बेपत्ताको खोजी, शव संकलन तथा उद्धार कार्य जारी छ। नेपाली सेनाका अनुसार रसुवाबाट मात्रै ८८ जनाको उद्धार गरिएको छ। रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन भएका ४४ जना सैनिक कर्मचारीको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले २६ जना प्रहरी र ९ जना सशस्त्र समेत गरी कुल ७९ सुरक्षाकर्मी सम्पर्क विहीन भएको जानकारी दिएका छन् । रसुवागढी भन्सार र अध्यागमन कार्यालयका कर्मचारी र स्थानीयहरू पनि सम्पर्क बाहिर छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *