काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज फेरी भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरस्थित आफनै घरबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रसाईंमाथि विद्युतीय अपराध ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार प्रसाईं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ परेका हुन् । प्रसाईंले सामाजिक सञ्जाल युट्युबमार्फत खतिवडालाई लक्षित गर्दै टिप्पणी गरेको दाबी गरिएको छ । संसदमा बोल्दा पनि उनले भनेकी थिइन् -“असोज ६ मा त्यस्तो अपमानजनक टिप्पणी सुन्दा आफू स्तब्ध भएको छु। सहिदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?” खतिवडाले त्यसबारे अनुसन्धान गर्न ब्यूरोमा उजुरी दिएको ब्यूरोका एक जना अधिकृतले बताएका छन् । प्रहरीले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ ।

