१५ भदौ, काठमाडौं । बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ ।
१० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७२ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो । निकुञ्ज क्षेत्र भएकाले जो–कोहीले प्रवेश पनि नपाउने भएकाले यी क्षेत्रहरूमा नेपाली सेनाको टोलीले नै शव निकाल्ने काम गर्दै आएको छ ।
नदी वारपार बोटमार्फत गर्दै निकै जोखिम मोलेर शव निकालिएको सेनाले बताएको छ । रसुवास्थित भोटेकोशीले बगाएका व्यक्तिहरूलाई अन्तत: नारायणी नदीमा पुग्ने हुँदा नारायणी नदी वारीपारी ठूलो संख्यामा शवहरू फेला परेका हुन् । शव निकालेपछि मुचुल्काका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाउने गरिएको सेनाले बताएको छ ।

