काठमाडौं, भदौ ८ — प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्न विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्नो नाम दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाको मात्र नाम दर्ता भएको हो।
नाम दर्ता गराउनेमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी, वासना थापा, गीता गुरुङ, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, वर्षमान पुन, प्रमेशकुमार हमाल, हर्कराज राई र खुश्बु ओली रहेका छन्।
संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि छुट्याइएको चार सिटमा प्रश्न सोध्ने सांसदको नाम भने अझै प्राप्त भएको छैन। रास्वपाले नाम पठाएपछि प्रश्नकर्ताको संख्या १५ पुग्नेछ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममार्फत सांसदहरूले सरकारको कामकारबाही, नीति तथा समसामयिक र जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन्। संसद्मा प्रधानमन्त्रीलाई प्रत्यक्ष जवाफदेही बनाउने यो अभ्यासलाई सरकारको उत्तरदायित्व र संसदीय निगरानीका दृष्टिले महत्वपूर्ण मानिएको छ।

