काठमाडौं, भदौ ८ — सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको घरबाट बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ।
प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न रोक लगाउनुको आधार र कारण खुलाउँदै बाटाको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न पनि विपक्षीलाई आदेश दिएको छ।
सर्वोच्चले भदौ ४ गते प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद भएका भनिएका सामानसमेत आगामी पेसीका दिन अदालतमा लिएर आउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ। प्रहरी टोलीले उक्त खानतलासीका क्रममा ६ वटा मोबाइल, एउटा ल्यापटप र सीसीटीभी रेकर्डर डिभाइस नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीले ती विद्युतीय उपकरण अनुसन्धानका लागि नियन्त्रणमा लिएको दाबी गरेको छ। केही उपकरण फरेन्सिक परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाइएको छ।
सर्वोच्चको आदेशसँगै प्रसाईंलाई घरबाहिर आवतजावतमा रोक लगाइएको विषय तथा उनको घरबाट बरामद सामग्रीको कानुनी आधारबारे प्रहरीको लिखित जवाफ र प्रमाण अदालतमा पेस हुने भएको छ। त्यसपछि अदालतले रिटमाथि थप सुनुवाइ गर्नेछ।

