सम्झनामा डा. राजेन्द्र बिमल – जसको एक शब्दले जिन्दगी नै बदल्ने शक्ति राख्थ्यो !

मुख्य समाचार प्रदेश समाचार मनोरञ्जन राजनीति शिक्षा

काठमाडौँ भदौं ६ गते । प्रध्यापक डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रम काठमाडौँ स्थित इम्पेरीयल हाउसमा सम्पन्न भएको छ। विभिन्न वक्ताहरूले उनको व्यक्तित्व, योगदानका बारे गहन छलफल गरेका छन् । साहित्यकार विमलको साउन २६ गते जनकपुरमा उपचारको क्रममा निधन भएको थियो ।

सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा राजनीति विश्लेषक सीके लालले डा. राजेन्द्र विमलमा वैराग्य र तपस्याको अंश रहेको उल्लेख गर्दै उनलाई जनकपुरबाट अलग राखेर हेर्न नसकिने बताए । उनका अनुसार विमल मधेशका चुनौतीबारे निकै सचेत थिए । हिन्दुत्वको राजनीति र धार्मिक अतिवाद बढ्दै जाँदा मधेशवाद नै समाप्त हुनसक्ने खतरा रहेको उनले बताए ।

अब आउनसक्ने जातिवाद र भाषिक विवादलाई विमलले साहित्यमार्फत समाधान गर्न सक्ने क्षमता विमलमा रहेको बताउँदै उनले मधेश भारतप्रति बढी निर्भर देखिए टिप्पणी गरे । भारतको दिल्लीले बिहारका लागि केही गर्न नसकेको अवस्थामा मधेशका लागि केही गर्न नसक्ने उनको तर्क थियो ।


कलाकार तथा पत्रकार सरोज कुमार मिश्र “खिलाडी” ले डा बिमल संग आफ्नो एक पटक मात्र भेटघाट भएपनि उनले जिन्दगीमा अगाडी बढ्न दिएको सुझाब तथा व्यक्तिको पहिलो ब्यबहारबाट मात्र संगत गर्न दिएको सुझाब आज पनि आफू मनन गरेर अगाडी बढिरहेको स्पष्ट पार्नु भयो। जसले गर्दा कसैले आफूलाइ धोखा दिनु भन्दा अगाडी नै आफू सचेत हुने गरेको जिकिर समेत गर्नु भयो।

साहित्यकार धीरेन्द्र प्रेमर्षिले डा. राजेन्द्र विमललाई हरेक समस्याको समाधान दिनसक्ने कल्पवृक्षको संज्ञा दिए । उनका दुई दर्जनभन्दा बढी रचनाहरू भए पनि धेरैजसो बाहिर आउन नसकेको बताउँदै प्रेमर्षिले लोकतान्त्रिक तथा मधेश आन्दोलनपछि जनकपुरमा विभिन्न विकल्प र व्यस्तताका कारण साहित्यिक गतिविधि कम भएको उल्लेख गर्नुभयो ।

पत्रकार सीताराम अग्रहरीले डा. विमलसँग मिथिलाको इतिहास र जानकी मन्दिरबारे अद्भुत जानकारी रहेको बताए । उनले विमललाई नेपालका विद्यापति, रवीन्द्रनाथ टैगोरका साथै आधुनिक याज्ञवल्क्य र अष्टावक्रको रूपमा चित्रण गरे ।

कार्यक्रममा राजनीतिकर्मी विवम केडियाले सरकारले डा. राजेन्द्र विमलको पहिचान र योगदानको कदर गर्दै उनको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्ने माग राख्दै राजेन्द्र विमलको पहिचानका लािग सरकारले केही नकेही गर्नुपर्ने बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *