रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् र भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धाधिंग लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति राष्ट्रिय मुक्ति पार्टी नेपाल गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ब्यापक रुपमा नागरिक, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरू सम्पर्कविहीन भएको, बस्ती, सडक, पुल, बजार तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्।
पार्टीले दुःखद् प्राकृतिक विपद्मा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिक तथा सुरक्षाकर्मीहरूको तत्काल खोजी तथा उद्धार गर्न र घाइतेहरूको प्रभावकारी एवं निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ।
यस विपद्को गम्भीरतालाई ध्यानमा राख्दै पार्टीले सरकारसमक्ष निम्न आग्रह समेत गरेको छ :
१. उद्धार कार्यलाई पहिलो प्राथमिकता दिइयोस् : नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिनवटै तहका सरकारले उपलब्ध सम्पूर्ण उद्धार संयन्त्रलाई परिचालन गरी बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल खोजी तथा उद्धार गरियोस्।
२. प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराइयोस्: खाद्यान्न, सुरक्षित आवास, खानेपानी, औषधि, कपडा तथा अन्य अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था गरी राहत वितरणमा कुनै ढिलाइ नगरियोस्।
३. घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गरियोस्: प्रभावित क्षेत्रमा आवश्यक चिकित्सक, औषधि, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गरियोस्।
४. विस्थापित परिवारको पुनर्स्थापना र क्षतिपूर्तिको सुनिश्चितताको भरोषा दिलाईयोस्: घर तथा जीविकोपार्जनका आधार गुमाएका परिवारलाई उचित राहत, क्षतिपूर्ति र सुरक्षित पुनर्स्थापनाको व्यवस्था गर्ने दिलासा भरोषा दिइयोस्।
५. सम्भावित थप जोखिम रोक्न तत्काल पूर्वतयारी गरियोस्: भोटेकोशी, त्रिशूलीलगायत नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रभावकारी कदम चालियोस्।
राष्ट्रिय मुक्ति पार्टी नेपाल यस विपद्को घडीमा रसुवा नुवाकोट लगायतका सम्पूर्ण प्रभावित नागरिकसँग ऐक्यबद्धता व्यक्त गर्दै यस्तो संकटमा राज्यको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु र राहत, उद्धार र पुनर्स्थापनामा मानवीय संवेदनशिलताको साथ कुनै पूर्वाग्रह, ढिलासुस्ती वा प्रशासनिक कमजोरी हुन नदिन सरकारलाई विशेष आग्रह गरेको बताएको छ ।
साथै, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय जन-समुदाय, सामाजिक संघसंस्था तथा स्वयंसेवीहरूलाई मानवीय सहयोग र सहकार्यका लागि अघि आउन आह्वान गर्दै यस दुखद पिडामा पिडितहरुसंग सम्पूर्ण देशवासी साथमा रहेको उल्लेख गरेको छ।

