मुख्यमन्त्री सिंहद्वारा सप्तरीमा थ्री फेज कृषी विद्युतिकरणको शुभारम्भ

मुख्य समाचार

सप्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा बुधवार ‘थ्री फेज कृषी विद्युतिकरण’ कार्यको औपचारिक शुभारम्भ गर्नुभएको छ।

कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको यो योजनाले वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

विद्युतिकरण कार्य सम्पन्न भएपछि ती क्षेत्रका कृषकहरूले अब डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। उहाँका अनुसार सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्नेछ। “कृषकहरूको आर्थिक बोझ कम गर्न र उनीहरूको उत्पादनमा वृद्धि ल्याउन हामीले यस्तो निर्णय गरेका हौं,” नगरप्रमुख माझीले भन्नुभयो।

मुख्यमन्त्री सिंहले उद्घाटन कार्यक्रममा बोल्दै कृषि विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारले यस्ता योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। “हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं, त्यसका लागि सिँचाइ, मल, बीउ र बजार सुनिश्चित गरिनु पर्छ। यस्ता कार्यक्रमहरूले त्यसको आधार तयार गर्छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा किसानहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समन्वय नगरपालिकाको कृषि शाखाले गरेको थियो।

थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटर पम्प चलाउन सक्ने र समयमै खेतमा पानी पुर्‍याउन सक्ने भएकाले उत्पादकत्वमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ।

23Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *