२५ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् ।
घिसिङले मन्त्रिपरिषदको २१ फागुनमा भएको निर्णय अनुसार चार बुँदामा सफाइ पेस गर्न २२ फागुनमा पत्रमार्फत जानकारी हुन आएको भन्दै आफूमाथि लागेका आरोप सम्बन्धमा आइतबार ऊर्जा मन्त्रालयलाई सफाइ पेस गरेका हुन् । ५ माघ २०७८ मा प्राधिकरणसँग भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ र २०७९/८० मा ९८.९४ अंक प्राप्त भएको र २०८०/८१ मा ९८.९९ अंक प्राप्त हुने वस्तुगत अवस्था सहति मूल्यांकन प्रयोजनार्थ पेस भएको घिसिङले सफाइ दिएका छन् । सम्झौतापत्र अनुसार मूल्यांकन गरिँदा ५० प्रतिशत अंक प्राप्त हुन नसके विद्युत् प्राधिकरणले सम्झौतापत्र वा नियुक्तिपत्र रद्द गर्न सिफारिस गर्न सक्ने र यसरी सिफासिर गर्नुअघि सुनुवाईको मौका दिने उल्लेख छ ।
‘मैले पेस गरेको कार्यसम्पादन मूल्यांकन गर्न विधिवत समिति गठन भएको मेरो जानकारीमा छैन । समिति गठन भई मूल्यांकन कारबाही गरिएको भए कार्यसम्पादन प्रतिवेदनमा सन्तुष्टि नभए मलाई आफ्नो बेहोरा राख्न र कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशत अंक प्राप्त नगरेकाले सम्झौतापत्र र नियुक्ति बदर गर्ने सिफारिस गर्नुअघि पूर्व अधिकारप्राप्त् निकायबाट सुनुवाइको मौका दिइएको छैन,’ घिसिङले पेस गरेको सफाइमा छ, ‘मूल्यांकन समिति वा प्राधिकरण तहबाट उक्त प्रक्रियाविना कुनै कारबाही गर्न सिफारिस गरिए त्योसमेत प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल भई मान्य हुन सक्दैन ।’