काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो । काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, -प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’
