२५ फागुन, काठमाडौं । स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने गरी केही साताअघि कांग्रेसले आफ्नो मुख्यालयमै स्टलसहितको मेला आयोजना गरेको थियो । केही महिनाअघि देखि कांग्रेसले नीति बहस पनि चलाउँदै आएको छ ।
आइतबारबाट कांग्रेसले अर्को अभियान सुरु गरेको छ, ‘मिसन रोजगारी’ । बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका बेला कांग्रेसले रोजगारीको बहस थाल्न खोजेको छ ।अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ छ ।
महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो । आइतबार अभियान सुरु गर्दै महामन्त्री थापाले विमर्शको केन्द्रमा रोजगारी बनाउन अभियान सुरु गरिएको जानकारी गराए । उनले भने, ‘रोजगारी राजनीतिक मुद्दा बनेको न प्रतिस्पर्धाको मुद्दा ।’
मिसन रोजागारी अभियानमा प्रारम्भमा विभिन्न क्षेत्रसँग प्रारम्भमा संवाद गरिने भएको छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसले जनाएको छ ।
साथै, रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसले जानकारी गराएको छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।