काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ ।
महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।
मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर शिक्षकहरूले बुधबार बीचको लेनसहित उत्तरतर्फको लेनमा समेत प्रदर्शन गर्यो । जसले उत्तरतर्फको लेन अर्थात् माइतीघरबाट बानेश्वर आउने सडकमा पनि गाडी गुड्न पाएनन् तर
आज शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुलीबजार पुलबाट अगाडि बढ्न दिएका छैनन् । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।
आन्दोलनकारी शिक्षकहरूले गाडी अगाडि बढ्न नदिएपछि बिजुली बजार पुगेका गाडीहरु बाध्य भएर ब्याक हुनु पर्यो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिररहेका छन् ।