१२ चैत, काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौं महानगरपालिकामा देखापरेका समस्या तत्काल समाधान गर्न माग गर्दै चेतावनी दिएको छ ।
कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउदले जारी गरेको विज्ञप्तिमा चैत २५ सम्ममा प्रमुख प्रशासकीय अधिकृतको विधिवत् उपस्थिति सुनिश्चित गरी कार्यालय सञ्चालन समुचित प्रबन्ध नगरे आन्दोलन हुने बताएका हुन् । काठमाडौं टावरको नक्सापास विवादमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जोडिएको भन्दै महानगरले हाजिर गर्न नदिएको विषयलाई इंगित गर्दै युनियनले भनेको छ -“मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुन पुगी सेवा प्रवाहमा जटिलता बढ्दै जाँदा समेत सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु आफैंमा खेदजनक छ ।”
बालेनले सामाजिक सञ्जालमा जुहारी गर्दै आएको प्रति कटाक्ष गर्दै युनियनले भनेको छ -” औपचारिक माध्यमबाट सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछु । विज्ञप्तिमा भनिएको छ -“विगत केही समयदेखि कार्यालयको कामका सिलसिलामा कर्मचारीलाई केही अनधिकृत मानिसले गैरकानुनी दबाब दिने, निम्नस्तरको भाषा प्रयोग गरी कर्मचारीको मानमर्दन गर्ने, त्रासको वातावरण सिर्जना गरी कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिने र कानुनसम्मत काम गर्न पाउने कर्मचारीको नैसर्गिक हक नियन्त्रण गरी हुकुमी शैलीको प्रशासनिक व्यवस्थापन लाद्न खोज्ने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो अनुचित कार्यलाई प्रश्रय नदिन र अविलम्ब बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं”।