२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले जुलुससहित सभा गर्न लागेको हो ।
उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा कार्यकर्ताहरु आउने राप्रपाले दाबी गरेको छ। यता सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे । सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ ।
साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्किने राप्रपा को दाबी रहेको छ।