काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा प्रचण्डले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिलसमेत गरेका छन् ।
सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे । तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा-हावा छ मान्छे । त्यो हामीले बुझेकै कुरा हो । नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन् । यो कुरा पनि नेवार समुदायले बुझाइदिनुपर्छ । किन कि त्यसो भनेको पनि ठिकै हो ।
नेवारले साथ दिँदैनन्–गणतन्त्र विरोधीलाई, निरंकुशताको पक्षपातीलाई ।’ कार्यक्रममा प्रचण्डले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको पनि बताए । उनले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिँदै संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए ।
भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ, अध्यक्ष प्रचण्डले भने ।अध्यक्ष प्रचण्डले नेवार समुदायको इतिहास र संस्कृतिलाई बर्बाद पार्नेहरूलाई नेवार समुदायले साथ नदिने बताए ।