३ वैशाख, काठमाडौं । मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । सो आरोपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे पनि थप बताउन चाहेनन् । अनुसन्धान भइरहेको छ । फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो ।
चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताए । अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
यस विषयमा अहिराजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको मोबाइल स्वीच्ड अफ छ । उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ ।