२४ चैत, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको बैठक बर्दियाको राजापुर सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति टुंग्याएकाे छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले डा. सीके राउत कार्यकारी अधिकारसहितको अध्यक्ष हुने टुंगो लागेको हो ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थितिमा बैठक बसेको थियो । एकीकृत दलमा दुई अध्यक्ष हुने र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो । पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । यस्तै पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।
विभिन्न चरणको छलफलपश्चात् एकताका लागि आज दुई दलको कार्यदलसहित बसेको शीर्ष नेताको बैठकले पार्टीको नाम र चुनाव चिन्हमा सहमति गरेको जनाइएको छ। १५ वैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको छ। पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ। दुवै दलबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने जनाइएकाे छ।
पार्टी एकताका लागि केही दिन अगाडि केन्द्रीय समितिको बैठकबाट दुवै दलले कार्यदल गठन गरेका थिए। सोही कार्यदलले बनाएको खाका एवम् विधान मस्यौदालाई जनमत पार्टीका अध्यक्ष राउत, नाउपाका संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छलफल गरेर टुङ्गो लगाउने छन् l जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन् । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।