काठमाडौँ । समाजवादी मोर्चाद्वारा चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक उतार्ने तयारी भैरहेको छ । मोर्चामा आबद्ध दलले जुलुस निकाल्ने र एक ठाउँमा आएर मिसिने र बिरोध सभा गर्ने तयारी मोर्चा को रहेको छ । विरोध सभामा एक लाख मानिस काठमाडौँ आउने अनुमान मोर्चाको रहेको छ ।
सबै दलले आफ्नो हैसियत अनुशार कार्यकर्ता उतार्न कम्मर कसेका छन् । खास गरेर बागमती प्रदेश र त्यस आसपासबाट कार्यकर्ता र समर्थक उतार्ने मोर्चाको तयारी रहेको छ । जस अनुशार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने जिम्मेबारी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ छ ।