काठमाडौँ । राजावादीहरूको तीनकुनेमा आयोजना भएको आन्दोलन उग्र, अराजक हुँदै हिंसात्मक बन्न पुगेको छ । स्थितिलाई नियन्त्रण लिन स्थानीय प्रशासनले निषेधाज्ञा नै लागू गरेको छ । राजावादीहरू सुरुदेखि नै निषेधित क्षेत्र उल्लङ्घन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेका थिए । राजावादीहरूको आन्दोलनका कमान्डर बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफैँले गाडी चलाएर निषेधित क्षेत्र तोडेका छन् । उनले गाडीबाट प्रदर्शनकारीहरूलाई निषेधित क्षेत्र तोड्न उस्काएका थिए ।
त्यसैगरि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले प्रदर्शनकारीलाइ कराउदै निषेधित क्षेत्र तोड्न उसकाएका छन् । निषेधित क्षेत्र तोड्न नसके पछि नेताहरुको उसकाहटमा प्रदर्शनकारीहरू भौतिक संरचना तोडफोड, आगजनी र लुटपाट गर्नतिर लागेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउनुको साटो प्रदर्शनकारीहरू थप अराजक बन्दै व्यक्तिका घर, सरकारी तथा निजी घर गाडी, प्रहरी विट, पार्टी कार्यालय माथि तोडफोड तथा आगजनी गर्न तिर लागेका हुन् ।
राजावादीहरूले कान्तिपुर टिभीको भवन, अन्नपूर्ण पोस्टको कार्यालय भवन, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयसहित कोटेश्वस्थित प्रहरी विट लगायतका संरचना तोडफोड गर्नुका साथै कतिपयमा आगजनीको प्रयास समेत गरेका छन् । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालय समेत राजावादीहरूले जलाएका छन् ।
राजावादीहरू फागुन २५ गतेको प्रदर्शनबाट उत्साहित भए पनि आजको कार्यक्रममा अपेक्षित मानिसहरू समेत नआएको तथा आएका मानिसहरूलाई आयोजकले नियन्त्रणमा राख्न नसकेकाले स्थिति तनावग्रस्त बन्न पुगेको अनुमान गर्न सकिन्छ ।
प्रदर्शनकारी र आन्दोलनकारीको झडपमा परी केही प्रहरी र आन्दोलनकारीहरू घाइते भएका छन् ।